कोरोना महामारीः दोस्रो लहरको संकेत- नौ महिनाको लकडाउन र आर्थिक संकट

स्वास्थ्य

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर फैलिने चिन्ता पुनः सुरु भएको छ । छिमेकी भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि खुल्ला सीमाका कारण नेपाल पनि प्रभावित हुने अनुमानहरु गर्न थालिएको छ ।

आजभन्दा एक वर्षअघि नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि ‘लकडाउन’ गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो । यो एक वर्षमा आम मानिसको दैनिक सामान्य बन्दै गएको अवस्थामा पुनः विश्वव्यापीरुपमै संक्रमण देखिन थालेको छ ।

कतिपय मुलुकहरुले लकडाउन र निषेधाज्ञाहरु लगाउन थालेका छन् । भारतका कतिपय राज्यहरुमा लकडाउन गर्न थालिएको छ । नेपालमा पनि लकडाउन गर्नुपर्ने चर्चा चल्न थालेको छ । सीमा नाकाहरु खोल्न, उडानहरु सञ्चालन गर्न थालिएको छ । संक्रमण फेरि फैलिए लकडाउन हुने हो कि भन्ने चिन्ता पनि सुरु भएको छ ।

अहिले पुनः कोभिड–१९ संक्रमणको दोस्रो लहर शुरु भएको छ । भारतमा दोस्रो लहर देखापरेकाले थप सतर्कता अपनाउनुपर्ने भएको छ । यसअघिसम्म नेपालले थोरै मानवीय क्षतिमा कोभिड–१९ को संकटको सामना गरेको भएपनि सतर्क भएर स्वास्थ्य सुरक्षाका उपाय अपनाइएन भने अवस्था भयावह हुनसक्छ ।

आर्थिक विश्लेषकहरुले दोस्रो पटक लकडाउन गर्नुपर्ने अवस्था आए मुलुकको अर्थतन्त्रले नधान्ने बताउँन थालेका छन् । यसअघिको लकडाउनले सिर्जना गरेको आर्थिक तथा राजनीतिक संकटका असरहरू जारी नै छन् । जनस्वास्थ्यका क्षेत्रका संकटसँगसँगै शुरु भएका आर्थिक र राजनीतिक संकट उल्टै गहिरिदैं छन् ।

९ महिनासम्म चलेको लकडाउनले नेपालको अर्थतन्त्र नै हल्लाइदियो । पुँजी बजारको कारोबार पनि करीब ३ महिनाका बन्द अवस्थामा रह्यो । कोभिडले नेपाली अर्थतन्त्रका मुख्य दुई क्षेत्रहरू पर्यटन र हवाइ क्षेत्रमाथि प्रहार गरेको थियो ।

आर्थिक वर्ष ७६/७७ का लागि सरकारले १५ खर्व ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोनाका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो ।

विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात् १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ ।

त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा ७५.६६ प्रतिशत अर्थात ८ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो ९ महिनामा भएका लकडाउनका कारण पर्यटन, निर्माण, यातायात लगायत अन्य अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा मानिसहरू बेरोजगार बने । रोजगारीमा ठूलो धक्का पुर्‍याएको कोरोनाले उत्पादन र उपभोगलाई पनि सँगै प्रभावित बनायो, त्यसको पुनःस्थापनाका लागि अहिलसम्म त्यी क्षेत्रहरू संघर्षरत छन् ।

अहिलेसम्म नेपालमा कोभिड–१९ का दुई लाख ७६ हजार दुई सय ४४ संक्रमितहरू पुष्टी भएका छन् । अहिले एक हजार एक सय २८ सक्रिय संक्रमितहरू रहेका छन् भने कोभिड–१९ संक्रमितमध्ये ३ हजार १९ जनाले जीवन गुमाए ।

कोरोना विरुद्धका सरकारका कामहरू मध्ये सबैभन्दा प्रभावकारी खोप कार्यक्रम देखिएको छ । खोप कार्यक्रम देशभर ३,००० खोपकेन्द्रबाट उपलब्ध गराइएको छ भने देशभर झण्डै ५ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् ।

खोपले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने भएपनि कोरोनाको दोस्रो लहरबाट जोगिन र पूर्ण रूपमा महामारी नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका उपायसहित आर्थिक–सामाजिक गतिविधि गर्नुपर्नेछ ।दृष्टि न्यूजबाट साभार,

कोरोनाको दोस्रो लहरको संकेत, विज्ञ भन्छन्- पहिलेजस्तै सतर्क बनौं,

केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ, युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ?त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु अस्पतालमा २०७६ चैत दोस्रो हप्ता कोरोना भाइरसको दोस्रो केस भेटिएयता आजसम्म शून्य संक्रमित भएर वार्ड खाली भएको छैन ।

पछिल्लो १० दिनयता कोरोना महामारीको शुरुवाती चरणमा जस्तै तनाव थपिएको डा. राजभण्डारी बताउँछन् । ‘संक्रमण भेटिइरहेको बेला सरकारले महामारी नियन्त्रणको अभ्यास गर्न चटक्कै छाड्नु हुदैनथ्यो’ उनी भन्छन्, ‘नागरिकलाई पनि लापरवाही गर्ने छुट थिएन ।’

पछिल्लो १० दिनयता संक्रमणको दर निरन्तर बढिरहेको छ । मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा र सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण देखिएको छ ।

महामारी नियन्त्रणमा नआउँदै सरकार र नागरिकले लापरवाही गरेकाले यो अवस्था आएको बताउने डा. राजभण्डारी फेरि पहिलेको संयत्र र व्यवहार पुन: सक्रिय गराउनुपर्ने बताउँछन् । नेपालमा जिन सिक्विन्सिङ गर्ने प्रविधि नभएर पछिल्लो समय भेटिएको संक्रमण कुन भेरियण्टको हो भन्ने पुष्टी हुन सकेको छैन । तर राजभण्डारी नयाँ भेरियण्टको कोरोना भाइरस फैलिइसकेको आशंका गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (इडिसिडी) यसअघि ३ जनामा नयाँ भेरियण्ट भेटिइसकेको पुष्टी गरेकाले उनको दाबीमा सत्यता रहेकोमा अधिकांश जनस्वास्थ्यविज्ञ सहमत छन् । किनकि पछिल्लो समय भेटिएका धेरै संक्रमितमा ‘एस जिन’ देखिएको छैन । एस जिन नदेखिएको भाइरसमा नयाँ भेरियन्टको भाइरस छ कि भनेर आशंका गर्न सकिने इडिसिडीका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

डा. राजभण्डारीका अनुसार नेपालमा अहिले बढेको संक्रमण युरोपेली देशमाझै कोरोनाको दोस्रो/ तेस्रो लहरको संकेत हो । भलै यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक घोषणा गरेको छैन । तर अधिकांश जनस्वास्थ्य विज्ञ कोरोनाको दोस्रो लहर आएकामा सहमत छन् ।

हामीले जे गर्नुपर्ने थियो गरेनौं, अब विगतबाट पाठ सिक्नुपर्छ ‘ निर्देशक राजभण्डारी आफ्नो अनुभव सुनाउँछन् । पटक पटक फैलिने र विश्वका धेरै भूगोललाई सताउने ‘पान्डेमिक’को चरित्र भएकाले यस्तो समयमा विश्वको अरु देशको अवस्था हेरेर कदम चाल्नुपर्ने जनस्वास्थ्यविद डा. शरद वन्त बताउँछन् । उनका अनुसार अन्य देशमा महामारीको दोस्रो/तेस्रो लहर फैलिएको बेलामा ‘हामी अपवाद हुन्छौं’ भन्ने सोच नै गलत हुन्छ ।

अझ समुदायमै संक्रमण भइरहेको बेला राज्यले आफ्नो गतिविधि बढाउने र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प हुन्न । पछिल्लो समय राज्य र नागरिक दुबैको तर्फबाट गल्ती भएको उनको तर्क छ ।’जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा जोड दिनुपर्छ भन्दा कसैले वास्ता गरेनन्, विज्ञानलाई नसुन्नु नै गल्ती भयो’ डा. वन्त भन्छन्, ‘हाम्रो मुर्खताको परिणाम घातक हुन्छ भन्ने सोचेको भए हामी अहिले अर्कै अवस्थामा हुने थियौं ।

फेरि परीक्षणको दायरा बढाउने, क्वारेण्टिन व्यवस्थित बनाउने, कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउनुपर्ने डा. वन्त बताउँछन् । अब महामारीविरुद्ध लड्ने सबै संरचना र व्यवहारलाई पुनर्जागृत गराउन उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.