नेपालको माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल

समाचार

नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको आज (बुधबार) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको समुद्घाटन गरेका हुन्।

मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताए । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उनले बताए । ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भने । आफु जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियान रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *