काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् काठमाडौं जिल्ला समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको शनिबार आयोजित सम्मेलनले डा. जेबी प्रधानको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा खड्गबहादुर श्रेष्ठ तथा सहसचिवमा बेलिसा बुढाथोकी र केशव अर्याल तथा कोषाध्यक्षमा भरतमणि सिलवाल चयन भएका छन् ।
सदस्यहरुमा निर्मला घिमिरे, इन्द्रप्रसाद सिंखडा, जयराम थापा, सीता सिग्देल, डा. रमिना महर्जन, डा. सूर्य सिग्देल, रामचन्द्र खनाल, चन्द्रबहादुर गुरुङ, संगीता थापा, कवीन्द्र थापा, शिवराज गौतम, भुपेन्द्र महर्जन, गणेश अधिकारी, हरिबहादुर कार्कीलगायत चयन भएको समितिले जनाएको छ ।
सम्मेलनमा परिषदका केन्द्रीय अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले मुलुकको आर्थिक रुपान्तरणका लागि नेकपा (एमाले)को नीति र नेतृत्वले २०५०-५२ सालदेखि नै डोहोर्याइरहेको बताए । ‘२०५०-५२ सालमा जब मनमोहनको नेतृत्वमा सरकार बन्यो, त्यसले समावेशीको विकासको मोडल अघि बढायो, त्योभन्दा अघि सरकारले वृद्धभत्ता बाँड्ने विषयमा सोचेको पनि थिएन,’ उनले भने, ‘आज हामी उद्यमशीलतामा आधारित ग्रिन इकनोमी तथा छरिएको पुँजीलाई एकीकृत गर्ने राष्ट्रिय स्वाभिमानी अर्थतन्त्र निर्माण गर्ने र त्यसको आलोकमा काम गर्न चाहिरहेका छौं ।’
तर, एमालेले सोचेअनुसार काम गर्न नसेकेको उनले बताए । ‘हामी जसरी सोचिरहेका छौं, त्यो विधाबाट काम भएको छैन, साइबर अट्याक भइरहेको छ । साइबरबाट सञ्चालित गिरोहले पार्टीको अध्यक्ष र पार्टीले चलाएको सरकारको विपक्षमा क्याम्पेन चलाइरहेको छ,’ डा. देवकोटाले भने, ‘त्यसलाई निषेध पार्ने गरी काम गर्न सकेका छैनौं ।’

एमालेका पोलिट्ब्युरो सदस्य एवं बुद्धिजीवी परिषदका इन्चार्ज अरुण नेपालले बुद्धिजीवी परिषद र एमालेका कार्यकर्ताहरुले पार्टीका राम्रा नीति र निर्णयलाई प्रचार गर्दै जनता समक्ष पुर्याउनुपर्ने धारणा राखे । ‘अहिले सबै बिगार्ने एमाले नै हो भनेजसरी दुष्प्रचार प्रचार भइरहेको छ,’ उनले भने, ‘एमालेविरुद्ध संगठित रुपमा भइरहेको प्रहारलाई निस्तेज पार्न सबै पार्टीपंक्ति जुट्नुपर्छ ।’
एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बौद्धिक व्यक्तित्वहरुले अन्यत्र जे गरे पनि बुद्धिजीवी परिषदमा बसेर गल्ती गर्न नहुने बताए । ‘हामी आफूलाई सर्वेसर्वा ठान्छौँ,’ उनले भने, ‘विगतमा कसले के गर्यो भनेर समीक्षा गर्नेभन्दा पनि म पुन: दोहोरिने कि नदोहोरिने भन्ने ठाउँबाट बहस गर्न थाल्छौं, परिषदमा चाहिँ यस्तो नहोस् ।’
काठमाडौंको पार्टी संगठन र पार्टीलाई स्थापित गर्नका लागि योग्य व्यक्तित्व हिजो पनि परिषदमा रहेको स्मरण उनले गरे । ‘आज थप योग्य व्यक्तित्वहरु छानिँदै गर्दा पार्टी काठमाडौंमा थप सबल र बलियो हुने विश्वास लिएको छु,’ निरौलाले भने ।
त्यस्तै बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र भण्डारीले देशको विकासका लागि नीति निर्माणमा मात्र लगानी गरेर नहुने बताए । नेपालले आयस्रोत बढाउनका लागि माइनर कम्पोनेन्टमा मात्र हात हालिरहेको उनको टिप्पणी छ ।
‘टेलिफोनको बिल, सवारी कर, आयकर जस्ता स्रोतबाट हामी सरकार चलाउन चाहन्छौँ,’ भण्डारीले भने, ‘स्रोत संकलनको सबैभन्दा मुख्य माध्यम विज्ञान र प्रविधि हो, हामी त्यसतर्फ जानुपर्छ ।’ देश विकासका लागि नीति निर्माणमा जति र जसरी लगानी भइरहेको छ, मानव संशाधनमा पनि त्यही हिसाबले लगानी बढाएर जानुपर्ने उनको सुझाव छ ।
त्यसैगरी बुद्धजीवी परिषदका केन्द्रीय सचिव दीपेन्द्र श्रेष्ठले देश विकास गर्न सक्ने र यो देशलाई ऐक्यबद्ध बनाएर लैजाने क्षमता एमालेमा मात्रै रहेको बताए । बुद्धिजीवी परिषद् नेकपा एमालेका २३ वटा संगठनमध्ये एउटा प्रबल संगठन भएकाले आफ्नो अनुभवका आधारमा पार्टीलाई सही सुझाव दिनुपर्ने उनले स्पष्ट पारे ।
प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार १९:०९