पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, मधेस स्टलमा आकर्षण


समृद्ध खबर


कास्की । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई पोखरेलीले भुलेका छैनन् ।

पोखरा उद्योग वाणिज्य संघले माघ १० देखि आयोजना गरेको महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियो । त्यस्तै सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आईटी उपकरण अवलोकन गर्ने थलो पनि महोत्वस बनेको छ ।

महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेस : बुझौँ मधेस’ स्टल मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुझ्ने गरेका छन् ।

महोत्सवलाई पोखराको मात्र नभई देशकै विविधता जान्ने, बुझ्ने र अनुभव गर्ने थलोका रूपमा विकास गर्न खोजिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताएका छन् ।

उनका अनुसार २५० स्टलमध्ये मधेस प्रदेशका दुई स्टलसँगै सुदूरपश्चिमका एक, कोशीका तीन, बागमतीका पाँच वटा स्टल छन् । तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ । महोत्सव माघ १९ सम्म चल्नेछ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार ११:५८